नेपाली सेना कल्याणकारी बोर्ड- एक चिनारी

परिचय

१. देशको स्वतन्त्रता, सार्वभौमसत्ता तथा अखण्डता जोगाउन कुनैपनि देशको सैनिक जवानहरुले चौबिसै घन्टा खट्टि आफनो जीवनको बहुमुल्य समय देशको सेवामा समर्पित गर्ने गर्दछ । तसर्थ ति जवानहरुको परिवार तथा बाल बच्चाको सहज शिक्षा, स्वास्थ्य, आवास, आदिको जिम्मेवारी नेपाल सरकार र नेपाली सेनाले लिनु पर्दछ । अन्य मुलुकहरुमा सैनिक ब्यक्तिहरुको लागि सरकारले विशेष ब्यवस्था गरेको पाईन्छ तर नेपालमा सरकारबाट बाल बच्चाहरुको शिक्षा, बहालवाला तथा अवकास प्राप्त (अ.प्रा.) सैनिक जवान लगायत परिवारहरुको स्वास्थ्योपचार, परिवार आवास आदिको लागि नगन्य सुविधा उपलब्ध छ । पेन्सनको भरमा जिवन यापन गर्ने अवकास प्राप्त जवानहरुको दैनिकी त झनै अप्रयाप्त पेन्सनको कारण कष्टकर र दयनीय छ । नेपाली सेनाले आफ्नो ब्यवस्थापनमा नेपाली सैनिक कल्याणकारी कोषको सृजना गरि जवान तथा तिनका परिवारहरुलाई कल्याणकारी सुविधाहरु दिने प्रयास गरि रहेको छ र यसलाई अझ ब्यवस्थित र विस्तार गर्नको लागि नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना गरिएको हो ।

कल्याणकारी कोषको स्थापना

२. नेपाली सेनाले सन् १९७४ मा संयुक्त राष्ट्रसंघको आह्वानमा ईजिप्टमा शान्तिसेना पठाए बापत प्राप्त हुन आएको भत्तालाई बैंकमा राखी शिक्षा, स्वास्थ्य, आवास, जस्ता कल्याणकारी कार्यको लागि नेपाली सेनाको कल्याणकारी कोष खडा गरेको थियो र त्यसपछि शान्तिसेनामा भाग लिने सैनिकहरुले पाउने दैनिक भत्ताबाट केही प्रतिशत रकम कटाई कल्याणकारी फण्डमा राख्ने प्रकृया थालनी भएको र सो प्रकृया हाल सम्म कायमैरहेको छ । यस फण्डलाई नेपाली सेनाले विभिन्न बैंकमा राखी प्राप्त हुने ब्याजबाट कल्याणकारी कार्य संचालन गर्दै आई रहेको छ ।

आदर्श वाक्य

नेपाली सेना कल्याणकारी बोर्डको आदर्श वाक्य “सेवा कल्याण सम्मान (Service Welfare Honor")रहेको छ र त्यस्को आसय“देश, जनता तथा नेपालीसेनाको सेवामा समर्पित रहेका बहालवाला एवं अवकाश प्राप्त सैनिक तथा तिनकाआश्रित परिवारहरु, नेपाली सेनाको कल्याणकारी कार्यक्रमहरुबाट समाजमा समृद्धि र सम्मानपूर्वक जीउने छन्” भन्ने हो ।

अवधारणा (Concept)


३. नेपाली सेनाले बहालवाला तथा अ.प्रा. सैनिक तथा तिनका परिवारहरुको बृहत्तर हितको लागि बि.सं. २०७० सालमा नेपाली सेना कल्याणकारी बोर्डको स्थापना गरेको हो। नेपाली सेना कल्याणकारी बोर्डको अवधारणा दुईवटा सिद्धान्तमा आधारित छ । पहिलो 'लगानी' र दोस्रो 'कल्याणकारी कार्य'।

Concept

४. लगानी (Investment) नेपाली सैनिक कल्याणकारी कोषलाई क्रमिक रुपमा आयमुलक ब्यवसायमा लगानी गर्दै बढी भन्दा बढी मुनाफा आर्जन गर्ने ताकि कल्याणकारी कार्यबाट बहालवाला तथा अवकास प्राप्त सैनिक जवान तथा तिनका परिवारहरुको आधारभुत आवश्यकताहरु पूर्ति गर्न सकियोस।

५. कल्याणकारी कार्य (Welfare) हाल सन्चालित कल्याणकारी कार्यहरुको कमि कमजोरीहरु अनुसन्धान गरि सुधार गर्ने र सम्पुर्ण बहालवाला तथा अ.प्रा. सैनिक ब्यक्ति तथा तिनका परिवारहरुले महसूस गर्ने गरि घर दैलोमा कल्याणकारी कार्य विस्तार गर्ने।

लक्ष (Aim)

६. नेपाली सेनाको बृहत कल्याणकारी छाता अन्तर्गत रही पारदर्शी रुपमा आय-आर्जन गर्ने तथा कल्याणकारी कार्यहरुलाई संचालन गरि यी गतिविधीहरुलाई प्रणालीबद्ध र प्रभावकारी रुपमा अगाडी बढाई गतिविधीहरुलाई विकेन्द्रित र विस्तार गर्नुको साथै आत्मनिर्भर तथा दिगो बनाउनु रहेको छ ।

उद्देश्यहरु

७. लगानी तर्फ:

(क) बोर्डले लगानी, नेपाली सैनिक कल्याणकारी कोष संचालन तथा ब्यवस्थापन समितिको निर्णयानुसार गर्ने छ ।

(ख) लगानीको अवधारणा, देशको विकासलाई टेवा दिने तर्फ लक्षित रहने छ ।

(ग) लगानी - कृषि, पर्यटन, उर्जा विकास, उद्दयोग र ब्यावसायिक सेवा गतिविधी तर्फ केन्द्रित रहने छ ।

(घ) लगानीलाई स्थापित हिताधिककारी कल्याण केन्द्र(ईपिसेन्टर)हरु मार्फत विकेन्द्रिकरण गरिने छ ।

(ङ)लगानीबाट प्राप्त थप आयबाट कल्याणकारी गतिविधीलाई विस्तार गरिने छ ।

८. कल्याणकारी कार्य तर्फ:

(क) सहुलियत कर्जा कार्यक्रम मार्फत भु.पू. सैनिक, तिनका परिवार र बहालवाला सैनिकका परिवारहरुलाई ‘Self-employment’ को मौका दिलाई तिनीहरुको जिवन स्तर उकास्ने ।

(ख) भु.पू. सैनिकहरुको लागि, सुरक्षा क्षेत्रमा दोस्रो जागिरको मौका सृजना गर्ने ।

(ग) भु.पू. सैनिकहरु तथा तिनका परिवारहरुलाई ब्यावसायिक तालिम दिई दोस्रो जागिर वा स्वरोजगारको लागि सक्षम बनाई रोजगार उन्मुख बनाउने ।

(घ) भु.पू. तथा बहालवाला सैनिकका सम्पुर्ण आश्रित सन्ततीहरुलाई स्तरीय शिक्षा दिलाउने ।

(ङ) भु.पू. सैनिक तथा तिनका आश्रित परिवारहरु र बहालवाला सैनिकका आश्रित परिवारहरुको लागि स्वास्थ्योपचारको राम्रो ब्यवस्था मिलाउने ।

(च) हिताधिकारीलाई घरमा आवश्यक पर्ने खाद्यान्न तथा अन्य उपभोग्य बस्तुहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराउन नेपाली सैनिक क्यान्टिनको संचालन र विस्तार गर्ने ।

(छ) अन्य कल्याणकारी कार्यहरुको गहन अध्ययन गरि विस्तार गर्दै जाने ।

NAWB – STRATEGY (रणनिती-लगानी)

९. लगानीको लागि देहाय बमोजिमको रणनीति अवलम्बन गरिने छ:

(क) थप कल्याणकारी कार्यको लागि आयमुलक क्षेत्रमा लगानी गर्ने ।

(ख) लगानी गर्दा देश विकासमा सरकारलाई टेवा मिल्ने खालका प्रोजेक्टहरु पहिचान गरि लगानी गर्ने ।

(ग) देशको प्राथमिकतामा परेका रणनैतिक (Strategic) महत्वका परियोजना/क्षेत्रहरुमा लगानी गर्ने ।

NAWB – STRATEGY(रणनिती-कल्याणकारी सेवा)

१०. कल्याणकारी सेवा तर्फ देहाय बमोजिमको रणनीति अवलम्बन गरिने छ:

(क) बहालवाला तथा अवकास प्राप्त सैनिक तथा बहालवाला सैनिकहरुको परिवारहरुको र एकल महिलाहरुको जिवन स्तर उकास्न कार्यक्रमहरु संचालन गर्ने ।

(ख) हाल संचालित स्वास्थ्य र शैक्षिक कार्यक्रमलाई अझ परिस्कृत गर्दै लैजाने ।

(ग) विविध कल्याणकारी कार्य जस्तै क्यान्टिन, आवास, बिमा, आदिमा सोध कार्य गरी सेवा विस्तार गर्ने ।

(घ) मितब्ययिता- कम खर्चमा बढी कल्याणकारी कार्य संचालन गर्ने ।

बनावट (Organization)

११. उपरोक्त बमोजिमको लक्ष र उद्देश्यहरु प्राप्तिको लागि नेपाली सेना कल्याणकारी बोर्डको अर्गनाईजेसन देहाय बमोजिम निर्धारण गरिएको


Organization

१२. सातवटै प्रदेशको हिताधिकारी कल्याण केन्द्र(ईपिसेन्टर) कार्यालयको दरबन्दी देहाय बमोजिम छ:

Office Structure

* सम्बन्धित जिल्लामा स्थान विशेष युनिटबाट सेनानी/सह सेनानी-१ सोही जिल्लाको स्थान विशेष मा समन्वय गर्ने गरी समन्वय अधिकृतको जिम्मेवारी तोकिएको ।

सञ्जाल

Network Regional Network Zone Network District Network

१३. देशभरि फिजिएर रहेको जवानहरुको वास्तविक आवश्यकता, उनिहरुको जन चाहना तथा उपयुक्त राय सुझाव केन्द्र सम्म पु-याउन, प्रभावकारी सञ्जालको आवश्यकता पर्द छ। नेपाली सेना कल्याणकारी बोर्डको संजाल विकास विधि निम्नानुसार रहेको छ :

जिल्ला संजाल विकासको कार्य संचालन विधि

लगानी (Investment)

१४. यस बोर्डले लगानीको लागि केही आयमूलक लगानी परियोजनाहरु पहिचान गरिएको तर हाल विद्यमान 'सैनिक ऐन २०६३को दफा २ (न)'मा प्रवर्धक (Promoter) को रुपमा लगानी गर्न नपाउने प्रावधानले बाधा पु-याई रहेको अवस्था छ। तसर्थ नेपाली सेनाले हालको ऐन सच्याउन पहल गर्नु पर्ने आवश्यक देखिन्छ । नेपाल सरकारबाट प्रदान हुनु पर्ने कल्याणकारी कार्य बजेटको अभावबाट वान्छनीय तवरमा अगाडी बढ्न नसकेको अवस्थामा, नेपाली सेनाले जवानहरुको आफ्नै तलब/भत्ताबाट सृजना गरेको कल्याणकारी कोषको उचित ब्यवस्थापनबाट गर्न लागेको यस प्रयासलाई नेपाल सरकारले सकारात्मक रुपमा लिई स्वीकृति दिने छ भन्ने नेपाली सेना कल्याणकारी बोर्डले विश्वास राखेको छ ।

पहिलो चरणको कल्याणकारी कार्य

१५. जिवन स्तर उकास्ने कार्यक्रम:अवकास प्राप्त सैनिक ब्यक्ति, एकल महिला तथा तिनका परिवारहरुको जिवन स्तर उकास्न नेपाली सैनिक कल्याकारी बोर्डले दुईवटा कार्यक्रम अगाडी सारेको छ:

(क) पहिलो- स्वःरोजगार: स्वःरोजगारीको लागि बोर्डले गहन अध्ययन गरि, कल्याणकारी कोषको रकम नचलाउने गरि, नेपाल ईन्भेष्टमेन्ट बैंक सित साझेदारीमा सहुलियत कर्जा कार्यक्रम संचालन गर्दै आएको छ ।

(ख) दोस्रो- पुनःरोजगार: अ.प्रा. सैनिक तथा अवकासमा जान अघि जवानहरुले स्व-रोजगार तथा पुन: रोजगारबाट थप आय आर्जन गरि जिवन स्तर उकास्न सकुन भन्ने हेतुले छोटो र मध्यम अवधिका व्यावसायिक तालिम संचालन गर्दै आएको । यी तालिम प्राप्त जनशक्तिहरुलाई स्वदेश तथा विदेशमा स्व/रोजगारी दिलाउन आवश्यक छ। इच्छुक तथा सक्षम हिताधिकारीहरुलाई आवश्यक्तानुसारको सुरक्षा तालिम गराई स्वदेश तथा विदेशमा पुन: रोजगार दिलाउन सेक्युरिटी तथा म्यानपावर कम्पनी मार्फत सेवा समेत प्रदान गरिने छ ।

१६. कृषि तथा पशुपन्छी पालन कर्जा कार्यक्रम/रोजगार कार्यक्रम: अ.प्रा. तथा बहालवाला सैनिकका परिवारका सदस्यहरुले कृषि जन्य ब्यवसाय गर्न चाहेमा कृषि तथा पशुपन्छी पालन कर्जा स्व:रोजगार कार्यक्रम अन्तर्गत सहुलियत दरमा १ (एक) करोड सम्म बैंकबाट कर्जा उपलब्ध गराईने छ।

१७. बोर्डको रणनीति अवलम्बन- यस बोर्डको रणनीति अनुसार विकेन्द्रिकरणको सिद्धान्तलाई अवलम्बन गर्ने क्रममा सबै प्रदेशहरुमा हिताधिकारी कल्याण केन्द्र(ईपिसेन्टर) कार्यालयहरु संचालनमा आई सकेका छन् भने सम्पुर्ण भु.पू. सैनिकहरुमा आफनोपन (Self-belongingness)को भावना सृजित गराउन र देशको कुना काप्चामा फिजिएर बसेका सम्पुर्ण भु.पू. जवानहरुमा जन चेतना ल्याउन भु.पू. सम्मेलन आयोजना गरिनुका साथै भु.पू. सैनिकहरुको वैज्ञानिक संजाल (Networking) वडा तह सम्म श्रृजना गर्ने काम निरन्तर रुपमा भइरहेको छ ।

संक्षेप

१८. नेपाली सेनाले बहालवाला तथा अवकास प्राप्त सैनिक तथा तिनका परिवारहरुको लागि निरन्तर कल्याणकारी कार्य सञ्चालन गरि उल्लेखनीय सेवा प्रदान गर्दै आई रहेतापनि नेतृत्व वर्गहरुले निरन्तर रुपमा यसलाई अझ ठोस रुपमा सञ्चालन गर्न अध्ययन तथा प्रयास हुदै गरेको छ । निरन्तरको अध्ययन, छलफल तथा विचार-विमर्स पछि,'नेपाली सेना कल्याणकारी बोर्ड'को स्थापना २०७० सालमा गरियो। यसले नेपाली सेना र अवकास प्राप्त सैनिकहरुको बीच जुन किसिमको कम्युनिकेसन ग्यापको अवस्था सृजनाभै रहेको थियो त्यसलाई जोड्न सफल भएको छ । नेपाली सेना कल्याणकारी बोर्डमा अ.प्रा. ब्यक्तिहरुको सम्लग्नताबाट अ.प्रा. सैनिकहरुको आवाज र आकांक्षालाई जन स्तरबाटै समेट्न सजिलो भएको छ । अहिले अ.प्रा. सैनिकहरुमा, नेपाली सेनाले उनीहरुलाई, राम्रो सित हेर्न थालेको साकारात्मक संदेश समेत गएको छ । यस बोर्डको उद्देश्य अ.प्रा. सैनिकहरुमा मात्र सिमित छैन, बरु नेपाली सेना कल्याणकारी बोर्ड सम्पुर्ण बहावाला तथा अ.प्रा. सैनिक ब्यक्ति तथा तिनका परिवारहरुको कल्याणको लागि समर्पित रही रहने छ ।